काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा सिट संख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपरान्ह बोलाएको बैठक पनि निष्कर्षविहिन बनेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीले आफूसँग राष्ट्रिय सभामा आफूहरु जिरो नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गरेको र त्यसमा एमालेसँग ठोस प्रश्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा -एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।
उनले सो विषयमा सत्तारुढ दलहरुबीच कुनै सहमति नभएकाले भोलि (बिहीवार) बिहान नौ बजे पुनः बैठक बस्ने सहमति गरिएको पनि बताए ।
बैठकमा प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालमा हुन लागेको भ्रमण र त्यसमा नेपाल सरकारले गर्ने छलफलको एजेण्डाको बारेमा पनि बिफ्रिङ गरेका थिए ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरु सहभागी थिए ।
