काठमाडौँ । पोखराको सेती खोचमा भएको यती एयरको विमान दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ ।
गत वर्षको माघ एक गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित आयोगले बिहीवार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो ।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ ।
पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा चालक दलका ४ सदस्य र ६८ जना यात्रुसहित ७२ जनाकै मृत्यु भएको थियो । प्रतिवेदन बुझाउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताए ।
उनले दुर्घटना हुनुको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको र त्यस अवस्थामा जहाज अगाडि बढ्न नसक्ने भएका कारण जहाज भुँइमा झरेको बताए । यसो हुनुमा मानवीय कारण दोषी मानिएको आयोगको ठहर रहेको उनले स्पष्ट पारे ।
