काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढिरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताए ।
उनले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए । देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।
उनले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए ।
