काठमाण्डौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसदमा दर्ता भएको संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल बाग्लुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले संविधान संशोधन अहिलेको आवश्यकता नभएको भन्दै सरकारले संशोधन प्रस्ताव फिर्ता लिन नसक्ने हो भने स्थगन गर्नुपर्ने बताउनु भयो ।
अहिलेको संशोधन प्रस्ताव राष्ट्रिय हितको प्रतिकूल रहेको जिकिर गर्दै संविधान संशोधनको विपक्षमा एमाले नरहेको उहाँको भनाई छ । अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने भन्दै उहाँले संशोधन प्रस्तावमा ल्याइएका भाषा, नागरिकता, प्रतिनिधित्व र सीमा हेरफेरसम्बन्धी बुँदामा एमाले सहमत हुन नसक्ने बताउनु भयो ।
संशोधन प्रस्तावमा छलफल समेत हुन नदिइने बताउँदै नेता पोखरेलले सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो ।