झापा । इलामको रोङ गाउँपालिका –४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअप भ्यानमा आगजनी गरेको आरोपमा बुलेट किराँती भनिने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
बुद्धशान्ति –४ का राईलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार अर्जुनधारा –११ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
उनी प्रदेशको पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ, अभियान अन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बुझिएको छ ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आह्वानमा कोशी प्रदेशमा यातायात बन्दको अवज्ञा गरेको भन्दै शनिवार पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअप भ्यानमा गाडीमा आगजनी गरिएको थियो ।
आगजनीमा संलग्नहरूको हुलियाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाम लगिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।
