काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उनको आरोप छ । अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दूराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे ।
उनले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना राजनीतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए ।
उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दूराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए ।
