काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका छन् ।
बिहीवार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि जनतामा आशाको सञ्चार नदेखिएको बताए । उनले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताए । उनले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत बैठक र केही नयाँ घोषणा गर्नैपर्ने देखिएको बताए ।
उनले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको बताए ।
प्रधानमन्त्री दाहालले व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवारी बोधको अनुभुति गराउनु आजको आवश्यकता भएको बताए । उनले अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताए ।
उनले अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतिपूर्ण भएको बताए ।
उनले नकारात्मक भन्दा पनि मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनसके नेपालमा प्रचुर सम्भावना रहेको दाबी गरे ।
