झापा । झापाको बिर्तामोडमा रहेको इमक कलेजको उद्घाटन तथा सोही कलेजको प्रांगणमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते बिर्तामोड आउने भएका छन् ।
कलेज व्यवस्थापनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर पूर्वराजा शाहको कार्यक्रमको तयारी पूरा भएको जनाएको हो ।
पूर्वराजा शाहले मंसिर ९ गते दिउँसो १ बजे पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्ने कार्यक्रम रहेको कलेजका कार्यकारी अध्यक्ष अलोक कार्कीले जानकारी दिए ।
इकम कलेजले गत वर्षदेखि नयाँ भवनबाट पठनपाठन सञ्चालन गरिरहेको छ । कलेजमा रहेको शालिक अनावरण पूर्वराजा ज्ञानेन्द्रको हातबाट गर्न व्यवस्थापनले निकै कसरत गरिरहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि मेचीनगरबाट र्याली निकाल्ने तयारी गरेको छ । तर आफूहरूलाई आफ्नो कलेजमा हुने कार्यक्रमको मात्र जानकारी भएको कार्कीले बताए ।
कार्यक्रममा सहभागिताका लागि सबै राजनीतिक दल तथा तिनका नेतृत्वलाई समेत निमन्त्रणा दिइएको कार्कीले बताए ।
इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)ले विजिनेस स्टडिज, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टका कक्षाहरू सञ्चालन गरिरहेको छ ।
