झापा । झापाको मुख्य व्यापारिक केन्द्र मानिएको बिर्तामोडका बासिन्दाका लागि छठ पूजा मनाउन बिरिङ खोलामा तयारी गरिएको छ ।
बिरिङ खोलामा ४ सय ४० वटा स्टल बनाएर तयारी पूरा गरिएको छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर दुबेले जानकारी दिए । समाजले कनकाई नगरपालिका वडा नम्वर ८ स्थित बिरिङ खोलाको किनारमा विगत १० वर्षदेखि छठ पूजाको आयोजना गर्दै आएको छ । बिरिङ खोलामा पानी पनि सफा रहने गरेको र छठका लागि उपयुक्त स्थान भएको दुबेले बताए ।
बिर्तामोडमा जनसंख्या बढेकाले अन्दुवा खोला छठ पूजाका लागि अब संभव नभएको उनको भनाइ छ । पूजाका लागि झण्डै एक हजार भक्तजनका लागि पण्डाल तयार गरिएको उनले जानकारी दिए । छठ पूजा सपन्न गर्न समाजले विभिन्न उपसमितिहरू बनाएर कार्य विभाजन अनुसार काम भइरहेको बताइएको छ ।
जसका लागि संगीता रौनियारको संयोजकत्वमा पाँच सदस्यीय प्रचार प्रसार समिति, शंकर भगतको संयोजकत्वमा सात सदस्यीय घाट तथा विजुली व्यवस्थापन समिति, अशोक चौधरीको संयोजकत्वमा सात सदस्यीय अर्थ समिति, मनोज साहको संयोजकत्वमा पाँच सदस्यीय मञ्च व्यवस्थापन तथा सास्कृतिक कार्यक्रम समिति, प्रेमचन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय शान्ति सुरक्षा समिति र सत्यनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय प्रसाद व्यवस्थापन समिति निर्माण गरी कार्य बिभाजन गरिएको समाजले जनाएको छ ।
बिरिङको छठ पूजाको उद्घाटन प्रतिनिधि सभाका सभामुख तथा झापा क्षेत्र नं २ का सांसद देवराज घिमिरेले गर्नेछन् ।
