काठमाडौं । नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ ।
आइतवार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बेठकले सो निणर्य गरेको हो । महासमिति बैठक अब मंसिर २९, ३० र पुष १ र २ गते बस्नेछ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको जानकारी गराए ।
यसअघि काँग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निणर्य भएको थियो । कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र रहातका लागि तत्काल ५० लाख उपलब्ध गराउने निणर्य पनि गरेको छ ।
त्यस्तै अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रिय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेको नेता विश्वकर्माले बताए ।
अन्य सहयोगका लागि पार्टीका सदस्यहरुलाई आग्रह गरिएको र सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गर्ने उनले बताए ।
प्रभावितहरुमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निणर्य भएको पनि उनले बताए ।
