काठमाडौं । सरकारले भूकम्पबाट प्रभावित व्यक्तिहरुको निःशुल्क उपचार गर्ने निणर्य गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकका निणर्य सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् ।
उनले सरकारले कोष, उद्धार तत्काल राहत तथा घाइतेहरुको उपचारमा प्राथमिकता दिने साथै भूकम्पबाट बिस्थापित भएका परिवारलाई अस्थायी आवास र सुरक्षा प्रवन्ध मिलाउने निणर्य गरेको बताइन् ।
उनले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्यस्थल र नेपालगञ्जलाई सहायक स्थल बनाइ खोज, उद्धार र राहत सम्बन्धी कार्य एकद्वार प्रणालीबाट मात्रै गर्ने निणर्य गरेको जानकारी दिइन् ।
त्यस्तै सरकारले छिमेकी लगायत मित्रराष्ट्र र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट औपचारिक रुपमा प्रश्ताव भएको सहयोग स्वीकार गर्ने र त्यस्तो सहयोगका लागि नेपालको तर्फबाट धन्यवाद ज्ञापन गर्ने, क्षतिग्रस्त क्षेत्रको पुनः निर्माणलाई एकीकृत कार्ययोजना बनाइ अघि बढाउने निणर्य पनि गरेको छ ।
त्यस्तै श्रोतको संरक्षण र पशुधनको सुरक्षाको व्यवस्था गर्ने, राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई दैनिक खाजा खर्च उपलब्ध गराउने, जाजरकोटलाई आधार मानेर क्षतिग्रस्त संरचनाको पुनःनिर्माण कार्य अघि बढाउने, पुनः निर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने निणर्य गरेको छ ।
