झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैं नेपालीहरूको साझा चाड भएको बताएका छन् ।
आफ्नै आयोजनामा गृह जिल्ला झापाको बिर्तामोडमा शुक्रबार गरिएको दशैं, तिहारलगायत चाडहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अरुबेला आफन्तसंग मनमुटाव भए दशैंले त्यस्ता मनमुटावलाई खोलिदिने बताए ।
उनले अन्य सँस्कृति भन्दा नेपाली मौलिक सँस्कृति उच्चकोटीको भएको बताए ।
ओलीले भने, ‘कहिलेकाहिँ अन्य देशका सँस्कृतिले हामीलाई प्रभाव पारेको देखिन्छ । तर हाम्रा चाडहरू विशिष्ट किसिमका छन् । दशैंको टिको लगाएपछि सबै मनमुटाव हराइदिने चाड हो दशैं ।’
अन्य बेला विपक्षी दलका नेतृत्वलाई कटाक्ष गर्ने ओलीले दशैं शुभकामना आदानप्रदान कार्यक्रममा दशैंको विशिष्टता र शुभकामनाका शब्दमात्र व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष विष्णु पौडेलले दशैंको मुखमा थेग्नै नसक्नेगरि महंगी बढेको बताए । एकातिर उल्लासका साथ दशैं मनाउनुपर्ने अवस्था छ भने अर्कातिर आर्थिक भारले जनतालाई गाँजेको उनको भनाइ थियो ।
कार्यक्रममा राप्रपा झापाका अध्यक्ष केशव ओझा, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँ तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य धर्मशीला चापागाईंले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बालन गीत प्रस्तुत गरिएको थियो भने मेरो भ्वाइस युनिभर्सका विजेता भारतको सिक्किम निवासी प्रीतम राईले गीत प्रस्तुत गरेका थिए ।
