काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्यसंगै नेपाली राजनीतिमा नयाँ सुरुवात भएको तर्क गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा नेता बस्नेतले कोशी प्रदेशबाट सुरु भएको नयाँ राजनीतिक कोर्ष अब संघीय सरकारमा समेत देखिने दाबी गरे ।
उनले भने, ‘कोशी प्रदेशको कांग्रेसको विद्रोह र एमालेसँगको सहकार्य त सुरुवात मात्रै हो । यसको कास्टिङ हो, यसको फिल्महरु प्रदर्शन हुँदैछन् । मलाई लाग्छ चाँडै नै फिल्महरु प्रदर्शन हुनेछन् र ती फिल्मका प्रभावहरु संघीय सरकारमा पनि पर्नेछ ।’
नेपालको राजनीतिलाई नयाँ दिशामा मोड्ने ढंगले कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा सरकार बनेको सुनाएका उनले भने, ‘कोशीमा एमाले जिम्मेवार बन्नुपर्छ भन्ने ढंगले हामीले अभिव्यक्ति दिएका थियौं । कोशी प्रदेशको सरकार बन्ने सन्दर्भमा एमाले अधिकतम लचिलो बन्नुपर्छ भनेर मैले पनि भनेको थिएँ ।’
उनले आफूले कोशी प्रदेशको स्थायित्वको लागि कांग्रेसले संस्थागत रुपमा निर्णय गरेर आउँछ भने पनि समर्थन गर्नुपर्छ भनेर भनेको बताए । उनले भने, ‘कोशी प्रदेशको स्थायित्वको लागि मैले सबै विकल्पमा जानुपर्छ भनेको थिएँ, कतिसम्म भने ८ जना सांसद लिएर आउनेलाई समर्थन गर्नुपर्छ भनेको थिएँ ।’
