जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देख्नेहरु एमालेको विरोध गरिरहेको तर्क गरेका छन् ।
पार्टी मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो भविश्य अन्धाकार देख्नेहरुले विरोध गर्दैमा एमालेलाई केही फरक नपर्ने बताए।
उनले एमालेको राम्रो काम देख्न नसक्नेहरुले विरोध गरेको तर्कसमेत गरे ।
‘एमाले काम गर्न नसकेर विरोध गरेको छैन । एमालेको राम्रो काम देखेपछि अब आफ्नै भविष्य अन्धकार हुने देखेर विरोध गरिदैछ ।’ अन्य दललाई उनले भने ‘ तपाईहरु सच्चिनुस् । सचिएनौं भने भविष्य राम्रो हुने छैन । अन्धकारमा जाने नै छ ।’
उनले मधेशबाटै संगठन निर्माण गरेको र ५० वर्ष अगाडी आफूलाई हत्या गर्न खोजेको समेत दाबी गरे । ‘मलाई हत्या गर्ने जिम्मा जसलाई दिएको थियो, त्यो प्रहरीले नै मलाई साइड लगायो र बाँचिए’, उनले भने ‘घटनाको ५० वर्ष भयो, प्रधानमन्त्री पनि भइसकेको देखेर आफूलाई हत्या गर्ने योजना बनाएकाहरुलाई भतभत पोलिरहेको छ ।’
