काठमाडौं । पूर्व प्रधानन्यायधीश सुशिला कार्कीले आम नागरिक अहिलेको शासन पद्दतिप्रति रुष्ट रहेको दाबी गरेकी छिन् ।
बिहीबार काठमाडौंमा आयोजित सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अहिले सत्तामा बस्नेहरुले आफ्नो र आफ्नाहरुका मात्रै हित हेरेको उनको आरोप छ ।
‘अहिलेको शासनबाट हुदैँन भन्ने कुराको विमति हरेक जनताको मनमा छ । सत्तामा बस्नेहरु आफू हाँस्नु हुन्छ, आफू नै नाच्नु हुन्छ, आफू खुसी आनन्द मनाई रहनु भएको छ । जनताहरुलाई दुख भएको छ । जनताले भएनभन्दा पनि आफूले के के नै गरेको जस्तो मुखमा जे आए पनि बोल्या छ,’ उनले भनिन् ‘कहिले आफैले राम्रो काम गरेको छु भनेको पनि सुनिन्छ । उहाँहरु एकोहोरो ताली पड्काएर हिँडिरहनु भएको छ । यता जनता भने उहाँहरुको कामबाट विरक्त छन् । यो बीचमा कसरी समायोजन गर्ने यो अहिलेको मुख्य कुरा हो ।’
उनले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सक्तामा बस्नेहरुले त्यसतर्फ ध्यान नै नदिएको बताइन् ।
‘सुशासन, विकास र समृद्धि यो तीवटा कुराको खाचोँ छ तर यसको स्थापनाको लागि इमान्दारिताको आवश्यकता हुन्छ । जसले शासन गर्छ, जो सत्तामा बस्छ त्यो व्यक्तिमा इमान्दारिता र निष्ठा हुनुपर्छ,’ उनले भनिन् ‘वर्तमानमा गलाभरि माला लगाउन पाए पुग्यो, इतिहासमा मेरो मूल्यांकन के छ, के भन्लान त्यो कुराको हेक्का नै राख्नु हुन्न भने हामी के भन्नु, देशमा काण्डै काण्ड र भ्रष्टाचार बाहेक केही छैन् । सत्तामा टिक्नको लागि फोहोरी काम गर्नुभएको छ ।
मुलुक कमिशन र भ्रष्टाचारमा फसेको भन्दै उनले नागरिकले पनि त्यसको खुलेर विरोध गर्न नसकेको बताइन् ।
सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुशासनको अभ्यासमा देश चुकेको तर्क गरे । उनले भने, ‘संसारको सबैभन्दा ठूलो एजेण्डा भनेकै सुशासन हो, हामी सुशासनको अभ्यास गर्दै जाँदा त्यसबाट जन्मिने भनेकै विकास र प्रगती हो । आलोचना गर्ने, सबैलाई खराब भनेर आफूलाई अब्बल देखाउनुभन्दा सबै अब्बलहरुको बीचमा अलि राम्रो बन्ने कोशिस गर्नुपर्छ ।’
