काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास आफूले लिएको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस मैले गरेको छु ।’
नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै प्रधानमन्त्री दाहालले सीसँगको वार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानीका विषयमा समेत कुराकानी भएको बताए ।
समारोहमा प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि सरकारको एकल प्रयासमात्र सम्भव नहुने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट अघि बढ्ने नीति लिएको बताए ।
