काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक कार्यतालिका कार्यान्वयन गर्नु पर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको डाक्टर शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको इतर समुहको बैठकले कांग्रेसको साझा एजेण्डाको रुपमा प्रस्तुत गरिएको वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकाल्दै त्यसलाई समीक्षा गर्नु पर्ने निष्कर्षमा पुगेको नेता बडुले बताए ।
बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य दिलन्द्र बडुले भने, ‘कार्ययोजना र कार्यतालिकासहित पार्टी अघि बढेको छ । केन्द्रीय समितिले पास गरेको कार्यातालिका पछिल्लो समय बीचमा वर्षात्को कारणले केही दिन रोकियो । त्यो भन्दा पहिले एक चरणको कार्यक्रम पूरा भैसकेको छ । यसको एउटा समीक्षा गर्नुपर्छ । र त्यो कार्यतालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्छ, त्यसले नै पार्टीलाई चलायमान बनाउँछ ।’
महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा पेश गरेको वार्षिक कार्यतालिकालाई १० साउनमा पार्टीले पारित गरेको थियो । त्यसलाई नीति अधिबेशनमा पनि साझा एजेण्डाको रुपमा निरन्तरता दिनुपर्ने कुरामा आजको बैठकमा छलफल भएको नेता बडुको भनाइ छ ।
त्यो बाहेक असोज ४ गतेदेखि बस्ने केन्द्रीय समितिका बैठकका एजेण्डा के के हुन सक्छन् भन्ने विषयमा पनि बैठकमा छलफल भएको बडुले जानकारी दिए ।
