काठमाडौ । सीआइबीले ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएको छ ।
तस्करीको ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ३५ दिन लगाएर तयार पारेको अध्ययन प्रतिवेदन जिल्ला सरकारी वलिकको कार्यालयमा बुधबार दिउँसो बुझाएको हो ।
बुधबार बुझाएको प्रतिवेदनमा सिआइबीले फरार प्रतिवादी समेत २९ जनालाई प्रतिवादी बनाएको जिल्ला महान्यायाधिवक्ता महेश प्रसाद खत्रीले जानकारी दिए ।
आज मात्रै प्रतिवेदन बुझाएकाले को कसलाई मुद्दा चलाउने र कसलाई नचलाउने विवरणहरु अध्ययन गर्न बाँकी रहेको भन्दै उनले भने, ‘अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको हुनाले यसमा के छ ,कसो छ , कतिजनालाई प्रतिवादी बनाइएको छ वा कतिलाई मुद्दा नचल्ने निणर्य भएको कुरा खुल्न बाँकी नै छ । सरर हेर्दा फरार प्रतिवादी समेत गरेर १९ जनालाई प्रतिवादी बनाइएको छ ।’
अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै रहेकाले उक्त घटनाको विवरण थपघट हुन सक्ने खत्रीले जानकारी गराए ।
सुन प्रकरणमा समातिएका ३२ जना हिरासतमा छन् । हिरासतमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, कार्गो एजेन्ट ४,ट्याक्सी चालक,भाषा अनुवादक १, सुन व्यवस्थापनका लागि कम्पनी खोल्ने र माल बस्तु व्यवस्थापन गर्ने २÷२ जना, सुनको कारोबारमा संलग्न ११ जना सहित, २३ जना नेपाली र ९ विदेशी नागरिक रहेका छन् । १८ जना अझै फरार रहेको सीआइबीले जनाएको छ ।
बुधबार प्रतिवेदन बुझाउनुपूर्व सिआइबीले पत्रकार सम्मेलनमार्फत सीआइबी प्रमुख किरण बज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४२ जनाको टोलीले ३५ दिन गलाएर उक्त अनुसन्धान गरेको जानकारी दिइन् ।
सीआईबीले विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेका चिनियाँ नागरिक दाओजिन वाङलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो ।
जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।
