काठमाडौँ। नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्यांकन गर्दै नेता नेम्वाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झन्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवाहक उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं. २ मा शोक–पुस्तिका राखिनेछ। पार्टी र पार्टीसम्बद्ध जनवर्गीय संगठनको औपचारिक कार्यक्रम पनि तीन दिनसम्म स्थगित गरिएको नेता ज्ञवालीले जानकारी दिए।
यसैगरी पार्टीले असोज २ गते पार्टी मुख्यालयमा विशेष श्रद्धाञ्जली सभा गर्ने निर्णयसमेत गरेको उनले बताए।
नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा राखिएको छ।
नेम्वाङको आज बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
