नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार विहान सुरु भएको मतदान केही बेरअघि सकिएको एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन्।
अर्यालका अनुसार कूल एक हजार ५ मतदाता रहेकामा ९ सय ६५ जनाले मतदान गरेका छन्।
लुम्बिनीमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी मैदानमा छन्। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।
लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ। सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । दुई समूहमा परेकाले उनी निर्विरोध भएका हुन् ।
शनिबारदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतीका पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि सहमति हुन सकेन। सहमतिका लागि नेताहरुले प्रयास गरेपनि सफल हुन नसकेपछि आइतबारनै सकिने भनिएको अधिवेशन लम्बिएको हो।
