कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।
गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको रिट ‘हेर्न नमिल्ने’ भएसँगै आइतबारका लागि पेशी तोकिएको थियो। जसअनुसार मुद्दाको पेशी न्यायाधीशद्वय सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा पर्यो। तर संवैधानिक महत्वको विषय भएकाले पूर्ण इजलासमा लगरे सुनुवाइ गरे उपयुक्त हुने राय आएपछि सोही अनुसार निर्णय भएको एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए। रिटमाथि अब सोमबारदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुनेछ। पूर्ण इजलासमा २ भन्दा बढी न्यायाधीश हुन्छन् ।
मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारणदेखाउसहित अन्तरिम आदेश जारी गरेका थिए । थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै अदालतले दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न पनि आदेश दिएको थियो ।
भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको भन्दै कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेश दिन माग गर्दै रिट दायर गरेका हुन्। मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए ।
