काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको बताएका छन् ।
सङ्घीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने भन्दै संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको उनले बताए ।
संसद्को सभा वा बैठक औपचारिक हुने भएकाले देश र जनहित सम्बन्धित छलफलका लागि प्रवेश पाएका सबै विषयवस्तु र प्रस्तावमाथि विभिन्न कोणबाट गहन बहस गरी टुङ्गोमा पुर्याउने काम संसदीय समितिबाटै हुने बताइएको छ ।
उनले भने, “मूल थलो संसद् मूलभूतरूपमा औपचारिकतामा सीमित रहन्छ, सङ्घीय संसद्ले सरकार र सिङ्गो मन्त्रिपरिषद्लाई जनताप्रति उत्तरदायी बनाउने काम संसदीय समितिमार्फत नै हुन्छ ।”
पूर्वसभामुख समेत रहेका नेम्वाङले संसदीय समितिका सभापति चयनको ढिलाइले राजनीतक दल आफ्नो मूल–जिम्मेवारीप्रति कति पछि परेका छन् भन्ने स्पष्ट सङ्केत गरेको प्रतिक्रिया दिए।
उनले भने, “हामी समितिमार्फत देशमा पारदर्शिता र जनताप्रति जवाफदेहिता स्थापित गर्ने काम गर्छौँ । समिति संविधान, कानुन, संसदीय मूल्य मान्यताका विषयमा हुने खुला र गहन छलफलका आधारमा सकारात्मक परिणाम निकाल्ने उपयुक्त थलो हो । खुसी लागेको छ, ढिलै भए पनि नेतृत्व पाउँदैछ ।”
