झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुराना राजनीतिक दलका नेताहरूका लागि पहिला लुटेका सम्पत्ति लुकाउने समय अब चार बर्ष मात्र रहेको बताएका छन् ।
२०८४ सालको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा पुगेपछि लुटेका सबै सम्पत्तिबारे छानबिन गरेर एक-एक गरेर राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई दण्डित गर्ने उनले दाबी गरे ।
झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित आमसभामा बोल्दै रास्वपाका सभापति लामिछानेले भने, ‘३२ बर्षमा लुटेको सम्पत्ति लुकाउनमा अबको चार बर्ष उनीहरू व्यस्त रहनेछन् । तर २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि हेरौंला के गर्दा रहेछन् ।’
अहिले चलिरहेका ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने केही नेता बाहेक प्रायः सबै नेताको बास जेलमा हुने लामिछानेको भनाइ थियो ।
उनले भने, ‘मुटु दह्रो भएको अनुसन्धान गर्ने हो भने धेरै नेताहरू बाँकी रहँदैनन् । मात्र तीन वटा फाइलले ।’
इतिहासमा त्यस्ता भ्रस्टाचारका धेरै फाइल रहेका र कतिपय फाइल लुकाइएको अवस्थामा रहेका उनको दाबी थियो । आफूले आफ्नो निर्वाचन क्षेत्रमा गरेको कामको टीकाटिप्पणी हुने गरेकोमा उनले अन्य दलहरूलाई पनि त्यसरी काम गर्न चुनौती दिए ।
लामिछानेले भने, ‘तपाईंहरूले पनि राम्रा कामको सुरुवात गर्नुहोस् । त्यहाँ ताली बजाउन अग्रपंक्तिमा म आफैं उपस्थित हुनेछु ।’ नेपाली राजनीतिमा सही मान्छेलाई अवसर दिनुभन्दा आफ्ना मान्छेलाई पोस्ने परम्परा बसेको उनले बताए ।
आम सभालाई पार्टीका महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाईं, सांसदहरू मनिष झापा, निशा डाँगीलगायतले सम्बोधन गरेका थिए ।
