काठमाडौँ। सुन तस्करी प्रकरणमा आवाज उठाउँदै आएका आफ्ना सांसद सुनील शर्मा पक्राउ परेको विषयमा कांग्रेस सांसदहरुले आपत्ति जनाएका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सरकारले कांग्रेसका नेताहरुलाई विभिन्न बहानामा फसाउन खोजेको भन्दै आपत्ति जनाएका हुन्।
सांसद आरजु राणाले सरकारका पछिल्ला क्रियाकलाप विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाइन्। कांग्रेसका नेताहरुलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्यहरु भइरहेकोमा कांग्रेस गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
सांसद श्याम घिमिरेले सामान्य केसमा संसद चलिरहेको सांसद पक्राउ गर्नु गैर कानूनी र गैर संसदीय अभ्यास भएको बताए।
उनले सांसद शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए।
बैठकमा लामो समयदेखि संसदमा भइरहेको अवरोधको विषयमा समेत छलफल भएको थियो। कांग्रेसले बजेट कार्यान्वयनदेखि पछिल्लो समउ देखा परेका विभिन्न जनसरोकारका विषयमा समेत छलफल भएको थियो।
