काठमाडौं । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले अवरोध गरेका छन् ।
सुन प्रकरणमा छानविनको माग गर्दै एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो । एमालेले उक्त प्रकरण छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ ।
एमालेले सो माग राख्दै साउन १० यताका राष्ट्रिय सभा बैठक अवरोध गर्दै आएको छ । समिति गठन नभएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ । उच्चस्तरीय समितिको माग गर्दै दुई सातादेखि संसद बैठक चल्न नदिँदा संसदमा आम जनताका जल्दाबल्दा समस्याका विषयमा छलफल हुन सकेको छैन ।
सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुुसन्धानको प्रक्रिया अघि बढाइसकेको अवस्थामा सरकार उच्च स्तरीय समिति बनाउन तयार देखिएको छैन भने एमाले समिति बनाउनै पर्ने अडानमा छ । एमालेले आफ्ना माग राखेर राष्ट्रिय र प्रतिनिधि सभाको बैठक प्रभावित बनाउदै आएको छ ।
समसामयिक बिषयमा सांसदहरुले बोलिसकेपछि एमालेले राष्ट्रिय सभा बैठकमा अवरोध गरेको हो । एमाले सांसदहरुले अवरोध गरिरहेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अर्काे बैठक साउन ३१ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गर्नुभएको छ ।
