झापा । तनावपूर्ण स्थिति बनेको झापा कारागारको अवस्था सामान्य बनेको छ । केदीको सरुवाको विषयमा प्रशासन पछि हटेपछि स्थिति सामान्य बनेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीको अन्यत्र कारागार सरुवाको विषय अहिलेलाई थाँती राखेपछि स्थिति सामान्य बनेको बताए ।
झापा जिल्ला कारागारमा रहेका केही कैदीलाई सुनसरीमा रहेको झुम्का कारागार सरुवा गर्न लाग्दा झापा कारागारका कैदीबन्दीहरूले शुक्रबार विद्रोह गरेका हुन् ।
कारागारमा रहेका कैदी मनोज लावतीलगायत केही कैदीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रेका थिए ।
कारागारभित्रै कैदी बन्दीहरूले टायर बालेर प्रदर्शन गरेका थिए । सरुवा गर्न कैदीलाई कारागार भित्र छिर्न नदिने कैदीबन्दीहरूले कारागारभित्रैबाट इँटा तथा ढुंगा बर्षाएका थिए ।
टायर बालेर प्रदर्शन गरिएका कारण आगलागी हुने जोखिम भएकाले झापाका धेरै पालिकाहरूका दमकल तैनाथ राखिएको थियो ।
सरुवा गर्न लागिएका कैदी मनोज लावती झापा कारागारका चौकीदार हुन् ।
कारागार व्यवस्था विभागले चौकिदार लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि लावतीलगायत अन्य कैदीलाई लैजान प्रहरी कारागार भित्र जान खोज्दा स्थिति तनावपूर्ण बनेको हो ।
