काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
मंगलबार बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ ।
बैठकअघि मंगलबार नै सभामुखले कार्याव्यवस्था परामर्श समितिको बैठक तथा प्रमुख दलका मुख्य सचेतकको बैठक राखेर सहमतिको प्रयास गरेका थिए ।
तर, सत्तारुढ दलका प्रतिनिधि संसद सूचना टाँसेर स्थगित गरौँ भनेर सभामुखलाई आग्रह गरेका थियो। त्यसअघि परार्मश समितिको बैठकमा सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन गर्न माग गर्दै अवरोध गर्दै आएको एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जावाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो ।
सोमबार पनि एमालेले छानविन समिति बनाउनुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने भन्दै सदन अवरोध गर्ने भएपछि बस्दै नबसी मंगलबारलाई सारिएको थियो ।
