काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताएका छन् ।
अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न पनि साहित्यकारहरुलाई आग्रह गरे ।
उनले अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाहरुको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाहरुले पनि सबै नेताहरुलाई बिग्रिएको भन्नु उस्तै हुने बताए ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘युगदूत’ नामक पुस्तक विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कविताको रचनालाई उद्धृत गर्दै सो कुरा बताएका हुन् ।
उनले स्रष्टाहरुलाई कतिपय नेताहरु बिग्रिएको कुरा सत्य भएकाले त्यस्ता तथ्यलाई आत्मासाथ गरेर साहित्यिक सृजना गर्न सुझाव समेत दिए । तर सबै नेताहरु बिग्रिएको भन्न नमिल्ने उनको तर्क थियो ।
