काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौ सुदूरपश्चिम प्रदेश सम्पर्क विभाग गठनको लागि बृहत् भेला कार्यक्रममा सभापति लामिछानेले आजैबाट सरकारमा जाने दिनगन्ती पनि सुरु भएको बताए ।
उनले भने, ‘हामी पनि दिन गनेर बसेका छौं । रास्वपा सरकारमा आउनेछ । रास्वपाले आफ्नो नीति लागु गर्ने छ । र हामी परदेश छोडेर घरदेशमा आउने छौं । आफ्नै प्यारो माटोमा जीवन विताउने छन् । हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं ।’
सभापति लामिछानेले आफूहरुले जनताको लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको लागि आजैबाट दिनको गन्ती सुरु भएको बताएका छन् ।
रास्वपाले अब जिल्ला दौडाहा पनि बढाउने भन्दै सबैसँग सम्बन्धित जिल्लाहरुमा भेट्ने बाचा पनि लामिछानेले व्यक्त गरे ।
