काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफू टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।
आइतबार ललतिपुरमा आयोजित वर्तमान परिस्थितमा पर्यटनको समस्या र समाधान विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री किराँतीले बजेटमा उल्लेख भइसकेपछि कमा र हलन्त पनि फेर्न नपाइने रहेछ । कि अब संविधान संशोधन गर्नुपर्ने या राजीनामा दिनु पर्ने भन्दै उनले यी दुई बाहेक अन्य विकल्प नभएको बताए ।
उनले भने, ‘मलाई के हेरेर बसेको छस् भनेर सोध्छन्, म टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न नसक्ने अवस्थामा पुगें । कहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो बजेट पेश भएपछि कमा पनि फेर्न पाइदैन, सरकार ढल्ने रहेछ, अनि टुलुटुलु हेरेर बस्नु बाहेक के गर्नु ।’
मन्त्री किराँतीले नेपालमा सरकारी संयन्त्रको काम गराई निकै झन्झटिलो भएको बताउँदै कुनै पनि काम गर्न ज्यादै घुमाउरो प्रक्रिया पूरा गर्नु पर्ने दुखेसो पोखे ।
मन्त्री किराँतीले पर्यटन र संस्कृति नीतिमा नै परिवर्तन गर्नु पर्ने र सबै सरोकारवालाहरुको पक्ष त्यहाँ हुनुपर्ने बताए । यद्धपि यो पुस्ताले निराश नबनी अघि बढे केही गर्न सकिने सम्भावना भने रहेको उनको भनाइ थियो ।
