काठामाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीनदिने विदेश भ्रमणका लागि इटाली जान लागेका छन् ।
इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड सहितको एक टोली आज साँझ इटाली जान लागेका हुन्।
इटाली भ्रमणको लागि आवश्यक तयारी करिब पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित अन्य विषयमा हुने आवश्यक सम्झौता तथा समझदारीका पक्षमा खाका तयार भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
भ्रमणमा प्रधानमन्त्री प्रचण्डसँग छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयकान्त राउत लगायत नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरूको एक टोली जाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने लगायतका कार्यसूची रहेको छ ।
