काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ।
हङकङबाट मोटरसाइकल र स्कुटरका पार्टपुर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार बरामद गरेको हो।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले प्रारम्भिक रूपमा ८० देखि एक सय किलोग्राम सुन बरामद भएको अनुमान गरिएको बताए ।
उनले बरामद भएको सुन बिहीबार नेपाल राष्ट्र बैङ्कमा बुझाउने बताए । महानिर्देशक ढुङ्गानाले एक आयातकर्ताले आफ्नो सामानमा सुन लुकाएर ल्याएको जानकारी दिँदै हङकङबाट काठमाडौँ आएको क्याथे प्यासिफिकको मङ्गलबारको उडानबाट सुन भित्रिएको बताए ।
महानिर्देशक ढुङ्गानाले बुधबार अनुसन्धानका क्रममा सुन नै भएको पुष्टि भएपछि बरामद गरिएको बताउँदै सुन ल्याउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा भन्सार एजेन्टको काम गर्ने व्यक्ति, ट्याक्सी ड्राइभर र अरूको लाइसेन्समा भन्सार एजेन्ट भएर बिचौलियाको काम गर्ने राजेन्द्रकुमार राई रहेको विभागले जनाएको छ।
