काठमाडौं । गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको ‘बगान’ले नेपाली चलचित्रमा सफलताको नयाँ उचाइ छुने संकेत दिएको छ ।
मंगलवार देशभर राम्रो अकुपेन्सीसहित चलेको यो चलचित्रले काठमाडौँ उपत्यका बाहिरका हलहरूमा पनि व्यापारको नयाँ सम्भावना देखाएको छ । मंगलवारका शोहरूमा दर्शकको उपस्थिति उच्च देखिएको थियो ।
यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहित कलाकर्मी, राजनीतिज्ञ, साहित्यकार तथा बिश्लेषकहरूले मंगलवार साँझ ‘बगान’ हेरेका छन् ।
अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्व राष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिइन् ।
राजनीतिज्ञ रवीन्द्र मिश्रले जुन बिषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सो बिषय ‘बगान’ले उठाएको बताए । उनले पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरेपनि भित्री मनले आफूसँग सम्बन्धित एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको र यो बिषयलाई शसक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको प्रतिक्रिया दिए ।
पूर्व मन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफै पनि तमाम महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएको बताइन् ।
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यो चलचित्र आमा छोरी नै आएर हेर्नुपर्ने बताए । “नारीमाथि भईरहेको अन्यायको बिषय उठेको छ । समाजको लागि राम्रो सन्देश दिएको छ । जे जति देखाईएको छ, सबै मनले स्वीकारेको छ”, श्रेष्ठले भने, “महिलाहरूले सतिप्रथा जस्तो सुन्दै डरलाग्ने अन्याय पनि भोगेका थिए । अहिले पनि श्रीमान वितेपछि समाजमा जिउँदै जलेर बस्नुपर्ने बाध्यता छँदैछ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद छ ।”
बरिष्ठ कलाकार हरिवंश आचार्यले यो चलचित्रको बिषय नै मुटु छुने रहेको बताए । “जो मानिसले एक्लो जीवन बिताउनुपर्छ उसले मुटुमा भएको कुरा छैन है भनेर बाहिर राखेर हिँड्नुपर्छ । यो बिषय नै त्यस्तै छ”, आचार्यले भने ।
उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको बताउँदै नव अभिनेत्री प्रमिला कार्की र अभिनेत्री मानन्धरको तारिफ गरे । बरिष्ठ कलाकार किरण केसीले चलचित्रमा धेरैपटक रुवाएको भन्दै अभिनेत्री कार्कीको प्रशंसा गरे ।
