काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
एक वर्षपछि असार २७ गतेका लागि तय गरिएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि स्थगित गरिएको थियो ।
भोलि मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पेस गर्ने अजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक आज (सोमबार) बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा दिउँसो २ बजे बस्ने पदाधिकारी बैठकले केन्द्रीय समितिको अजेन्डा तय गर्ने छ ।
पदाधिकारीसहितको बैठकले तय गरेको अजेन्डा केन्द्रीय समितिको बैठकमा महामन्त्रीले पेस गर्ने कांग्रेस परम्परा छ । असार २७ गतेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकमा पेस गर्ने प्रस्ताव तयार गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइएको छ ।
उनीहरूले ल्याउने प्रस्तावका आधारमा पदाधिकारी बैठकले केन्द्रीय समितिको अजेन्डा तयार गर्ने छ । बैठकमा पदाधिकारीका साथै पूर्व पदाधिकारी पनि सहभागि हुने सभापति देउवाको सचिवालयले जनाएको छ ।
एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा आठ महिना अघि भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समिक्षा गर्नुको साथै नीति महाधिवेशन(महासमिति बैठक)को समिति तय गर्नेछ ।
साथै, क्रियाशील सदस्यता, विभागहरू थप गर्नुको साथै त्यसलाई पूणर्ता दिएर पार्टी संगठनलाई चलायमान बनाउने विषयमा पनि छलफल हुने कांग्रेस पदाधिकारीहरूले दाबी गरेका छन् ।
