काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको स्विकार गरेका छन् ।
आइतबार सर्वोच्च अदालतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको गुनासो गरेका हुन् ।
उनले भने, ‘हामीले वास्तवमा न्यायाधीशको नियुक्ति समयमा गर्न सकिरहेका छैनौ । समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा धेरै नै समस्याहरु उत्पन्न भइरहेका छन् । संविधानले नै खाली हुनुभन्दा एक महिना अगाडि न्यायाधीशहरुको नियुक्तिको सिफारिस गर्नुपर्छ भन्ने व्यवस्था राखेको छ । त्यसको पनि कार्यान्वयन गर्न सकेको अवस्था छैन । त्यसलाई हामीले कडाईका साथ पालना गर्ने र खाली हुनु एक महिना अगाडि नै न्यायाधीशको सर्वोच्च र उच्च अदालतमा नियुक्त गर्ने व्यवस्थालाई लागू गर्न सक्नु पर्छ ।’
वस्तुनिष्ठताका आधारमा न्यायाधीश नियुक्त हुनुपर्नेमासमेत जोड दिएका उनले अझै पनि न्यायाधीश नियुक्तिमा प्रयास गरिरहेको बताए ।
‘अझै पनि समय छ, न्यायाधीश नियुक्तिमा प्रयासरत छु,’ उनले भने ।
सर्वोच्च अदालतमा ७ जना तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो । तर अहिलेसम्म न्याय परिषदको बैठक बस्न सकेको छैन ।
