काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने अजेन्डा तय गर्न अहिले बिहान सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारीहरू छलफलमा जुटेका छन् । पदाधिकारीसहितको बैठकले तय गरेको अजेन्डा दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्रीले पेस गर्ने छन् ।
विधानत प्रत्यक दुई-दुई महिनामा बस्नु पर्ने कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्न लागेको हो । गत असार २७ देखि सुरु भएर साउन २ गते केन्द्रीय समिति बैठक सकिएपछि कांग्रेसमा फेरि अर्को बैठक बसेको थिएन ।
एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा आठ महिना अघि भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समिक्षाका साथै नीति महाधिवेशन, क्रियाशील सदस्यताका साथै समसामयीक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए ।
