काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिर्जनात्मक कर्मसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताएका छन् ।
सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेको भन्दै सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनु पर्ने बताए ।
उनले भने, ‘राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्ध समाज निमार्णमा मद्दत पुग्दछ । जनताको त्याग र बलिदानबाट निर्मित संविधानले समाजवाद उन्मुख राज्य निमार्णको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारीक एवम् सांस्कृतिक आधार निमार्णमा केन्द्रीत रहनु पर्नेमा सायदै हामी कसैको विमति होला ।’
उनले पुष्पलाल राष्ट्रिय पुरस्कार प्राप्त व्यक्तिहरुले समाजवादी संस्कृति निमार्णको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको पनि बताए ।
उनले भने, ‘समाजवादी संस्कृति निमार्णको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न समेत पुरस्कृति हुने व्यक्तिहरुबाट महत्वपूर्ण योगदान हुने विश्वास राखेको छु । ’
प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट आन्दोलन मात्रै नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान निकै विशिष्ट रहेको स्मरण गर्दै समग्र लोकतान्त्रिक आन्दोलनको र लोकतन्त्र प्राप्तीको मार्गदर्शन गर्ने कुरामा पनि पुष्पलालको भूमिका महत्वर्पूर्ण रहेको बताए ।
