काठमाडौं । १४ औं महाधिवेशनपछि नेपाली कांग्रेसले बिहीबार पहिलोपटक जिल्ला सभापतिहरुको भेलाको आयोजना गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा भएको भेलामा देउवा नै अनुपस्थित रहे ।
६५ भन्दा बढी जिल्लाका सभापति सहभागी भएको भेला सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणमा आउन सक्ने समस्यालाई समाधान गर्ने प्रयोजनका लागि राखिएको थियो । तर भेलाको मूल विषयलाई छाडेर जिल्ला सभापतिहरु भने सरकारको कामकारवाही बारे असन्तुष्टि व्यक्त गरेका थिए ।
बैठक पछि कांग्रेस केन्द्रीय मीन विश्वकर्मा भेलामा सरकारको कारवाही बारे प्रश्न उठेको बताए ।
उनले भने, ‘भेलामा सरकारको विषयमा साथीहरुले कुरा उठाउनु भयो , छलफल पनि भयो , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति पनि सही होइन भन्ने कुरा उठ्यो ।’
आगामी असार २७ गते बोलाइएको केन्द्रीय समिति बैठकअघि बोलाइएको जिल्ला सभापतिहरुको भेलाले कांग्रेस भित्र नयाँ तरंग उत्पन्न गरेको छ ।
यता महामन्त्री गगनकुमार थापाले भेला महत्वपूर्ण भएको बताए ।
उनले भने, ‘भेला धेरै अर्थमा महत्वपूर्ण छ , भेला बोलाउन आवश्यक पनि थियो ।’
सभापति देउवा भेलामा अनुपस्थित हुनुलाई भने भेलामा सहभागीहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।
