झापा । कोशी प्रदेशको नामकरणको विरोध जनाइरहेका पहिचानवादीहरूले सरकारी कार्यालयका बोर्डमा उल्लेख गरिएको प्रदेशको नाम मेटाउन थालेका छन्।
उनीहरूले बोर्डमा लेखिएका ‘कोशी प्रदेश’ मेटाएर प्रदेश १ लेखेका छन्।
जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने भन्दै पहिचानवादीहरू आन्दोलनरत छन्।
पहिचानवादीहरुले झापाको बिर्तामोड नगरपालिकाको बोर्डमा लेखिएको कोशी प्रदेश पनि मेटाएका छन्। कोशी लेखिएको ठाउँमा कालो रंगले पोतेर १ नं. प्रदेश लेखेका छन्।
कालो झण्डासहित आइतबार बिहान १० बजे आएको समूहले बोर्डमा रहेको कोशी प्रदेश मेटाएका हुन्।
सो समूहले बिर्तामोडका वडा कार्यालयहरुमा पनि प्रदेशको नाम मेटाएर १ नं. प्रदेश लेखेका छन्।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका अध्यक्ष पाण्डवलाल चौधरीका अनुसार झापाका करिब एक दर्जन सरकारी कार्यालयमा कोशी प्रदेश हटाएर प्रदेश १ लेखिएको हो।
झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय, चन्द्रगढीमा रहेको कलबलगुडी प्रशिक्षण केन्द्र, खानेपानी कार्यालय, कृषि विकास बैंकलगायत कार्यालयहरूका बोर्डमा लेखिएको कोशी प्रदेश मेटाइएको उनले जानकारी दिए।
प्रदेशमन्त्री भक्ति सिटौलाले उद्घाटन गर्ने भनिएको बिर्तामोड साहित्यिक सम्मेलन पनि उनीहरूले बिथोलेका छन्।
