काठमाडौं । सभामुख देवराज घिमिरेले सदन, सरकार, सांसद र राजनीतिक दललाई प्रभावकारी बनाउन संसदीय रिपोर्टिङलाई गहन र विश्लेषणात्मक बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आज संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदीय पत्रकारिताको ठूलो महत्व रहेको चर्चा गरे । उनले सरकारका गतिविधिलाई प्रभावकारी बनाउन संसदीय रिपोर्टिङ गहन र विश्लेषणात्मक हुन आवश्यक भएको बताए ।
उनले भने, ‘संसदलाई गरिमायुक्त बनाउन, संसद र राष्ट्रपतिलाई जिम्मेवार बनाउन, सांसदहरुका गतिविधिलाई प्रभवकारी बनाउन र संसदले गरेको ठीक कामको प्रचार र प्रोत्साहनका गर्न, गलत कामलाई सच्चाएर सदनप्रति निरासा र टिप्पणी भन्दा पनि आशा र भरोसको विकास गर्नका लागि विश्लेषणात्मक सञ्चारको जरुरी हो भन्ने लाग्छ । अलि बढी विश्लेषण गरेर ठीक खालको विश्लेषण दिन जरुरी छ।’
संसदमा विरोधको राजनीति हुदै आएको परम्परालाई रचनात्मक र प्रभावकारी रुपमा विश्लेषणात्मक ढंगबाट परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ ।
संसदीय मामिलामा रिपोर्टिङ गर्नेहरुले आगामी दिनमा संसद भित्रका विभिन्न परिवेश र सीमाका आधारमा त्यहाँको वस्तुस्थितिलाई यर्थाथपरकरुपमा सदन चल्दा र नचल्दा दुवै अवस्थामा सूचनालाई प्रभावकारी रुपमा विश्लेषण सहित जनतामा पु¥याउन प्रभावकारी भूमिका निभाउने अपेक्षा उनको छ ।
‘यो अधिवेशनलाई प्रभावकारी पार्नको लागि राजनीतिक पार्टीहरुको भूमिका,त्यसबाट आएका विभिन्न सदस्यहरुको भूमिका, त्यसका समितिहरुको भूमिका र त्यसलाई सञ्चालन गर्ने रेफ्रीको भूमिकामा रहेको सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षको भूमिकालाई विश्लेषणहरु गरी यसलाई प्रभावकारी पार्नको लागि यहाँहरुलाई ८औं अधिवेशनले विधि मिलाउने मात्र होइन निर्ममताका साथ समीक्षा गर्नुहुने छ । र त्यसले आगामी दिनको लागि दिशा निर्देश गर्ने छ ।’
