काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कोशी प्रदेशका नाममा भइरहेको निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नभएको बताएका छन् ।
बिहीबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा जाने क्रममा आफूलाई इलामबजारमा पहिचानवादीले कालो झन्डा देखाएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल नहुने बताएका छन् । उनले यो समस्या समाधानका लागि एमाले वार्ता र संवादका लागि तयार रहेको समेत बताएका छन् ।
‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल हुँदैन । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयम् वहाँहरूका लागि पनि लज्जाको विषय हो’ भट्टराईले लेखेका छन् ।
