काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञान, बुद्धि र विवेक हुने विद्यार्थी जहाँ पनि सफल हुने बताएका छन् ।
बिहीबार मदन भण्डारी मेमोरियल कलेजको २२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिले गुरु र चेलाको सम्बन्धको परिभाषा नै फेरिएको बताएका छन् । उनले गुरु कुट्ने चेलाको मुद्दा सरकारले भाग लिन कार्य गलत भएको उल्लेख गर्दै विद्यार्थीले संस्कृति र शिष्टता विर्सन नहुने बताए ।
उनले भने, ‘हाम्रो देश जस्तो सभ्यताको जगमा उभिएको देशमा अहिले गुरु कुट्ने प्रवृत्ति छ । र त्यस्तो व्यक्तिहरुलाई साथ दिएर सरकारले मुद्दा फिर्ता लिन्छ । विद्यार्थीले शिक्षक कुट्न पाईन्छ भनेर भन्छन् । शिक्षक हाम्रो खालको होइन् रहेछ, शिक्षक हाम्रो खालको रहेछन् पड्काउन मिल्छ भनेर भन्छ सरकारले, मुद्दा फिर्ता लिन्छ । उनीहरुको नाम विद्यार्थी हुन्छ तर उनीहरु विद्यार्थी होइन्, बाहिर सडकका हुन्छन् । यस्तो संस्कारबाट हामी जोगिनु पर्छ । संस्कृति, शिष्टता अरुका लागि होईन्, आफ्नै लागि हो ।’
अध्यक्ष ओलीले नेपालमा विकासका लागि पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै बाटो, भवन र विश्वविद्यालय बनाउन आवश्यक रहेको बताएका छन् ।
उनले भने, ‘नेपालमा उत्पादन वृद्धिदर १० प्रतिशतभन्दा माथि लान सकिन्छ किनभने विकासको तह धेरै तल छ त्यसलाई माथि लान सकिन्छ । देशलाई माया नगर्ने जुन चलन छ, त्यो होइन् नयाँ पिडीले देशप्रति गर्व गर्नुपर्छ । हाम्रो शिक्षा जीवनोपयोगी र समाजमा उपयोग गर्न मिल्ने हुनुपर्छ ।’
