काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानतथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
बुधवार सिचुवान प्रान्तको राजधानी छेन्दुमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।
दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचार विमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल-चीन सीमा नाकाहरुमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो ।
यस्तै चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढङ्गबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ । दुवै पक्षबीच प्राकृतिक प्रकोप एवं विपद्को सामना गर्न मिलेर अगाडि बढ्ने समझदारी जुटेको छ ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीतिलाई दोहोर्याउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रतालाई चीनले सधैँ समर्थन गर्दै आएकोमा धन्यवाद दिए । राजनीतिक स्थिरतासँगै नेपालले आर्थिक समृद्धिमा जोड गरेको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी दिनमा नेपालको आर्थिक विकासमा चीनको सहयोग र लगानी वृद्धि हुने विश्वास व्यक्त गरे ।
चिनियाँ उपप्रधानमन्त्री फोङले चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको बताए । कोरोना महामारीपश्चात द्विपक्षीय भ्रमण आदानप्रदान अभिवृद्धि भएको चर्चा गर्दै उनले तातोपानी नाकालाई व्यापार तथा आवातजावतमा खुला गर्नका लागि आफूले पहल गर्ने विश्वास दिलाए ।
