काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी ११ दिनपछि डिस्चार्ज भएर राष्ट्रपति कार्यालय फर्किएका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत असार २ गते अस्पताल भर्ना भएका थिए ।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी उपचार गरिएको थियो । राष्ट्रपतिले उपचारमा संलग्न डाक्टर तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ”स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरू, ‘कन्सल्टिङ टिम’मा जोडिएका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यप्रति चासो व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ ।”
