काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन भत्किने संभावना रहेको बताएका छन् ।
शनिबार काठमाडौं ४ मा आयोजित क्षेत्रीय सम्मेलनमा सहभागी कांग्रेस महामन्त्री एवं सांसद थापाले सरकार बन्ने, गठबन्धन भत्किने सामान्य प्रक्रिया भएकाले अहिलेको गठबन्धनले नराम्रो गरे सरकार फेर्न सकिने बताएका हुन्।
कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको महामन्त्री थापाको भनाइ छ। समाजवादी मोर्चामा एमाले पनि थपिएर कम्युनिस्ट एकै ठाउँ भए पनि कांग्रेसलाई फरक नपर्ने उनले दाबी गरे।
महामन्त्री थापाले निर्वाचन प्रणालीकै कारण वडादेखि पालिका र प्रदेशदेखि केन्द्रसम्मै गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनले बताए। यस्तो निर्वाचन प्रणाली भएपछि कसरी सरकार बन्छन् भने उनले प्रश्न गरे।
उनले कांग्रेस अलमलिँदा र लय पक्रिन नसक्दा राजनीति अनि सिंगो समाज प्रभावित भएको बताए। कांग्रेसको अलमलमा कम्युनिस्टहरुले खेलेर सत्ता चलाउन सकेको उनको धारणा छ।
