झापा । ‘दर्पण छायाँ’बाट अभिनयमा चर्चा बटुलेका नेपाली चलचित्रका कलाकार उत्तम प्रधानले ‘दर्पण छायाँ फेरि पनि’ नामक नेपाली चलचित्र निर्माण गर्ने भएका छन् ।
करिब अढाइ दशक अघि दर्पण छायाँ चलचित्र सुपरहिट भएको थियो । तुलसी घिमिरेले निर्देशन गरेको उक्त चलचित्रमा नायक उत्तम प्रधानको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए । दर्पण छायाँमा कलाकार प्रधान अन्धोको भूमिकामा देखिएका थिए ।
तिनै सुपरस्टार नायक प्रधानले दर्पण छायाँको सिक्वेल ल्याउन लागेका हुन् ।
‘मलाई दर्पण छायाँले चिनायो,’ उनले भने, ‘दर्शकबाट पाएको त्यो मायालाई मैलै बिर्सन सक्दिन । त्यही भएर दर्पण छायाँको सिक्वेल बनाउन लागेको छु ।’
लामो समय नेपाली चलचित्र क्षेत्रबाट टाढै रहेका कलाकार प्रधान अहिले आफ्नो जन्मभूमि भारतको सिक्किममै छन् । सिक्किममा बसेर पनि उनले नेपाली चलचित्रको विकासमा सहयोग गर्दै आएका छन् ।
नेपाली चलचित्र उद्योगबाट हराएका कलाकार उत्तम प्रधान सिक्किम सरकारको चलचित्र विकास बोर्डको अध्यक्ष पनि भए । उनी सन् २०१४ देखि २०१९ सम्म अध्यक्ष बनेर नेपाली चलचित्रको क्षेत्रमा पुलको काम गरे । उनकै पालामा नेपाली चलचित्रको प्रवर्द्धन र प्रचारमा ठूलो योगदान पुगेको थियो । उनले त्यसबेला नेपाली चलचित्रका कलाकारलाई सिक्किममा बोलाएर इनास अवार्ड कार्यक्रमसमेत सम्पन्न गरेका थिए ।
शुक्रबार झापाको काँकरभिट्टामा पत्रकारहरूसंग कुरा गर्दै उनले आगामी दिनमा पनि विगतमा जस्तै माया पाउने आशा व्यक्त गरे ।
लहना, मलाई माफ गरिदेउ, परे माया जालमा, बसाई, मितिनी लगायतका तीन दर्जन बढी नेपाली चलचित्रमा उनले अभिनय गरिसकेका छन् ।
