काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्शाको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन दिएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले दिएका हुन् ।
उनले भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारीक धारणा आएको बताए ।
उनले अखण्ड भारतको नक्शा मुरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्शामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताए ।
मन्त्री साउदले अखण्ड भारतको नक्शाका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पारे ।
