झापा । कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष ग्यास अजमल मियालाई मेचीनगर ६ का एक युवकले हेल्मेटले निर्घात प्रहार गरि नाकको डाँडी भाँचिदिएका छन् ।
मियामाथि निर्घात प्रहार गर्ने मेचीनगर ६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियामाथि बिहीबार विहान अस्पताल गेटसँगै टाँसिएको मुख्य सडकमा पनेरुले हेल्मेट प्रहार गरेका थिए ।
प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको बेला सडकमा लडेका थिए । अस्पतालबाट निस्कदै गर्दा वडाध्यक्ष सवार गाडीमा पनेरु आफैं ठोक्किएर लडेका थिए ।
त्यही निहुँमा उनले कारभित्र रहेका वडाध्यक्ष मियामाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनालगतै कुटपिटमा संलग्न पनेरु मोटरसाइकल चढेर भाग्न खोज्दा स्थानीयबासीको सहयोगमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
