काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल प्रचण्डले अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल सकिएलगत्तै सभामुखसँग समय लिएर सांसद शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको स्मरण गराए । उनले व्यक्तिगत रुपमा प्रचण्ड युद्ध अपराधमा दोषी भए पनि देशको प्रधानमन्त्री हुन नसक्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्चले ३० गते हाजिर हुनु भनेर पत्र काटिसकेको छ । म सोध्न चाहन्छु ३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल भएर जानुहुन्छ युद्ध अपराधजस्तो कुरामा अदालतमा जानेजस्तो कुरामा देशले अपराध गरेको होइन, व्यक्तिले गरेको हो । प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । नैतिकताको आधारमा पनि पदमा बस्न मिल्दैन ।’
सांसद शाहीले बोलेलगत्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले आपत्ति जनाएका थिए । उनले सांसद शाहीले निरन्तर प्रधानमन्त्रीलाई गैर राजनीतिक तरिकाले लखेटिरहेको र हुर्मत लिने काम गरेको भन्दै शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।
