काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालमा ठूला उपलब्धिहरु बलिदानीपूर्ण संघर्षबाट हासिल गरेको भन्दै ७० वर्षे उमेरहदबारे आफ्नो धारणा प्रष्टसँग राखेका छन् ।
शनिवार नेपाल निजामति संगठनको दोस्रो राष्ट्रिय महिलाभेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूराना नेताहरुले ठूला र कठिनपूर्ण संघर्ष पार गरेर आए पनि पूराना नेताको त्याग, संघर्ष र योगदानका विरुद्धमा अभियान नै सञ्चालन गर्न खोजिएको बताए । उनले यो अभियान अमर्यादित भएको टिप्पणी गरे ।
उनले भने, ‘अहिले पुरानाहरुका योगदान, त्याग, वलिदान र संघर्षको विरुद्धको अभियानसञ्चालनगर्न खोजिएको छ ।’
उनले साह्रै कठिन समयको पार गर्दै यो अवस्थासम्म आइपुगेको स्मरण गराउँदै इतिहासको सम्मान गर्नुपर्ने धारणा राखे ।
‘मैले आफ्नै जीवनलाई पनि हेरेको छु, यी ५८ वर्ष कति कठिन वर्षहरु थिए । भूमिगत जीवन, देख्ने वित्तिकै गोली हान्ने आदेश बोकेर हिँडेकाहरुबाट जोगिएर भूमिगत अवस्थामा निर्वासनमा रहनु, घरपरिवारसंग अलग भएर अत्यन्तै चरम यातना सहेर जेलमा बस्नु त्यस्ता दिनहरु झेलेर आउनु सजिलो कुरा थिएन्,’ ओलीले भने ।
आफ्नो राजनीतिक जीवनकालको संघर्षको हवाला दिँदै उनले नयाँ पुस्ताको पूरानाप्रतिको वितृष्णा उचित नहुने तर्क गरे ।
‘वर्षौसम्म गोलघर र कालकोठरीहरुमा बस्नु सजिलो कुरा थिएन, शहीदहरुले बलिदान दिनु रहरको कुरा थिएन्, अवस्था सहज नभएकाले शीर नझुकाई कष्टपूर्ण जीवन बाँच्नु सजिलो कुरा थिएन । आजका केही उत्ताउलापनले पुरानाहरुले केही गरेनन् भनेर हुन्छ ? यो अवस्था कहाँबाट आयो त नानीबाबुहरु?’
उनले अग्रहहरुविरुद्धको अभियान अमर्यादित भएकोसमेत कडा टिप्पणी गरे ।
